गृहमन्त्रीको हुकुमी शासन मान्य हुँदैन - सांसद खतिवडा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
गृहमन्त्रीको हुकुमी शासन मान्य हुँदैन - सांसद खतिवडा 

काठमाडौँ - काँग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुन विपरीत हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गरेका छन् । 

 

आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरी नियमावली विपरीत आफूखुसी काम गरेको भन्दै विरोध गरे ।उनले भने, ‘एक जना उपप्रधानमन्त्रीले ट्राफिक महिला दिदीबहिनीहरूलाई पिरिएडको समय चार दिन बिदा दिने कामको सुरुवात गर्नुभएछ । कानुन बनाएर गर्दा यो असाध्यै राम्रो काम हो ।

हामी स्वागत गर्न चाहान्छौं । तर, देश हुकुमी शासनमा होइन कानुन अनुसार चल्नुपर्छ ।’ यस्तै खतिवडाले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने गृहमन्त्री लामिछानेको विवादास्पद निर्णयप्रति पनि असन्तुष्टि जनाएका छन् । 

‘सडक प्रयोगका क्रममा विभिन्न कारणले सवारी नियम उल्लङ्घन गरेका चालकलाई सडकमा स्वयंसेवकका रूपमा खटाउन थालेपछि आज संसद्मा उक्त विषयलाई उठाउँदै खतिवडाले भने, ‘मापसे गरेकालाई बिहान सडकमा ल्याएर उभ्याउने रे, यो कुन कानुन र कुन नियमावलीमा छ ? गृहमन्त्रालयले प्रहरीलाई नियम अनुसार काम गर्न निर्देशन गरेको छकी मन्त्रालयबाट पत्राचार भएको छ ? यसरी देश चलाउने ? शासन पद्धतिको अन्त्य गर्न लागेका मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौँ ।’

उनले ट्राफिक स्वयंसेवकको रूपमा विद्यार्थीहरू पनि जाने गरेकाले त्यसले उनीहरूमा नकारात्मक असर पार्ने उल्लेख गर्दै थपे, ‘मापसेमा लरबर हुँदै उभ्याइकाहरु र पहेँलो ज्याकेट लगाएर सडकमा खटाइएका सबै मापसे गरेर कारबाहीमा परेका हुन भन्ने पर्न गयो भने देश कतातिर जान्छ ? सडकमा स्वयंसेवा गर्नेको इज्जत रहन्छ कि रहँदैन ? तुरुन्त यो काम बन्द गरेर कानुन अनुसार काम गर्नेव्यवस्थाको सुरुवात होस भन्ने माग गर्न चाहन्छु ।’

उक्त विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले कटाक्ष गरेका छन् भने सडकमा स्वयंसेवक बनाइएका व्यक्तिहरू पनि असन्तुष्ट देखिएका छन् । गृहमन्त्री लामिछानेले गणतन्त्र दिवस पारेर महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने घोषणा गरेका थिए ।