काठमाडौँ -सरकारले बजेट ल्याएपछि लगातार घटेको सेयर बजार साताको पहिलो दिन बढेको छ ।
आइतबार नेप्से परिसूचक १३.५१ अङ्कको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रह्यो ।९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले घटेको थियो । बिहीबार नेप्से परिसूचक १९.८९ अङ्कले घट्दै २०६९.५३ मा रहँदा ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढेका छन् । फाइनान्स उपसमूह सर्वाधिक २.१७ प्रतिशतले बढेको छ । घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूहमा २.४० प्रतिशतको गिरावट छ । १७४ कम्पनीको सेयर मूल्य बढ्दा मन्टीपर्पोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ता बढी फाइदामा छन् । दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शन, अपर सोलु हाइड्रोको सेयर मूल्य पनि बढेको छ ।
सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स छ । उक्त कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख, फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको १४ करोड ७ लाख, अपर लोहोरे खोला हाइड्रोपावरको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ६१ कम्पनीको सेयर मूल्य घट्दा नारायणी विकास बैङ्कका लगानीकर्ता बढी नोक्सानमा छन् । उक्त बैङ्कको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ । युनिभर्सल नेपाल, पोखरा फाइनान्सलगायतको पनि सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
०००