काठमाडौँ -बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बर महिनामा काठमाडौँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन ।
‘विश्वका महिलाहरूको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो, ’ डङ्गोलले भनिन, ‘अवस्थालाई अवसरमा रूपान्तरण गरिएका कथाहरू हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरूको सार्थक र सक्रिय सशक्तीकरणका लागि उपयोग गर्छौँ ।’
सम्मेलनमा सङ्गीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तका वक्ताहरूलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विचार राखेका थिए ।