नयाँ पार्टीहरुको चित्र मात्रै हेरेर हुँदैन, चरित्र हेर्नुपर्छ:  किरण पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८ दिन अगाडि
नयाँ पार्टीहरुको चित्र मात्रै हेरेर हुँदैन, चरित्र हेर्नुपर्छ:  किरण पौडेल

 काठमाडौँ -‘पार्टीमा पदीय जिम्मेवारीदेखि लाभको पद र अवसर वितरणमा न्यायोचित नभई नातागोतामा केन्द्रित भयो । गुट र नजिकका व्यक्ति भएको नाममा पक्षपातपूर्ण व्यवहार भएको छ । तर अब बिस्तारै त्यसमा सुधार हुनेछ ।’

विस. २०३५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय बागलुङका किरण पौडेल यति बेला नेपाली काँग्रेसको केन्द्रीय सदस्यको भूमिकामा छन् । नेविसंघको महामन्त्री हुँदै काँग्रेसको राजनीतिमा दशकौँ बिताएका उनी संसदीय अभ्यास गर्ने अवसरबाट निरन्तर वञ्चित हुँदै आएका छन् । पार्टीमा गरेको योगदान र सक्रियतालाई अवमूल्यन गरिएको भन्दै उनले एक वर्षअघि काँग्रेस छाड्ने घोषणा पनि गरेका थिए । तर सभापति शेरबहादुर देउवाको आग्रहमा उनी पुनः पार्टीको सक्रिय भूमिकामा आएका छन्।
विशेष गरी प्रवासमा रहेका नेपालीहरूसँग राम्रो सामीप्य ता बनाएका उनी जिल्लामा पनि उत्तिकै लोकप्रिय छन् । केही दिनअघि मात्र पौडेललाई सभापति देउवाले जनसम्पर्क समन्वय विभागको प्रमुख बनाएका छन् । विश्वका करिब ३६ देशमा फैलिएको काँग्रेसको जनसम्पर्क समितिको भावी कार्यक्रम, राष्ट्रिय राजनीति एवम् समसामयिक विषयमा पौडेलसँग कुराकानी -

भर्खरै मात्र नेपाली काँग्रेसको जनसम्पर्क समन्वय विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ । ठुलो दलको विभागलाई अब कसरी अगाडि बढाउनुहुन्छ ?
विभागको जिम्मेवारी लिएको लामो समय भएको छैन । जनसम्पर्क समितिहरूका बारेमा अध्ययन गरिरहेको छु । अवस्था बुझिरहेको छु र प्रवासमा रहेका साथीहरूसँग संवाद गरिरहेको छ । सम्पर्क समितिहरूको थप विवरणको सबै कार्यालयबाट जानकारी सङ्कलन गरिरहेको छु । अहिले नै के गर्ने भन्ने योजना बनाएको छैन । विभागलाई कसरी राम्रो बनाएर अगाडि बढाउन सकिन्छ यस विषयमा थप अध्ययनपछि मात्रै मैले काम गर्नेछु ।
नेपाली राजनीति एकदमै अस्थिर देखिन्छ, तपाईँले चाहिँ कसरी हेरिरहनु भएको छ ? 
नेपालको वर्तमान राजनीतिक अवस्था अत्यन्तै सनसनीपूर्ण र चुनौतीपूर्ण अवस्थामा छ । हामीले यसलाई समयमै सम्हाल्न सक्यौँ र सही दिशा दिन सक्ने हो भने राम्रो निचोड निस्किन सक्ने अवस्था आउन सक्छ । एकले अर्काको पोल खोलाखोल गर्न  जुन स्तरमा जे जति क्रियाकलाप भएका छन् त्यसले एउटा गलत काम गर्ने मान्छेसँग अर्को गलत गर्ने मान्छे मिलेर ढाकछोप गर्ने जुन परम्परा थियो त्यसलाई अन्त्य गरिदिएको छ । गलत गर्ने मान्छेको गल्ती काहीँ न काहीँ निस्किन्छ, ढाकछोप गर्न सकिँदैन । ठग, बदमासी, दलालीहरू जसले यो व्यवस्थालाई वितृष्णातिर लैजान खोजेका थिए ती सबैलाई झापड दिएको छ । नयाँ किसिमको सुरुवात भएको छ । गलत कुराहरूलाई हामीले अन्त्य गर्नेछौँ ।

तर सरकारको गतिविधि अलिक प्रतिशोधपूर्ण देखिन्छ । सरकारले निष्पक्ष भएर सबैलाई सँगै लिएर काम गर्न सकेको छैन । निष्पक्ष यस अर्थमा कि गलत गर्नेलाई कारबाही गर्न सरकार तयार हुनुपर्छ । काँग्रेसले लाखौँ सहकारपीडितको विषय उठाएर छानबिन समिति माग गर्दा आखिरमा सरकार झुकेर बनाउनुपर्ने अवस्थामा पुग्यो । सुरुमै बनाइदिएको भए धेरै गतिविधिहरू अहिले अगाडि बढिसक्ने थिए । गल्ती गरेकामाथि छानबिन हुन्छ र कारबाही हुन्छ भन्ने परेपछि धेरै मानिसहरू तर्सिन्थे । हुँदाहुँदै यहाँ ठगहरूको बिचमा कतै मेलमिलाप नै त हुँदैन भन्ने डर पनि बढ्दै गयो । ठगले सजाय पाउने कुरालाई बिर्सिएर राजनीति छोड्छु र अरूले पनि छोड्नपर्छ भन्नेसम्मको कुराहरू गरे । बदमासी गरेपछि राजनीतिबाट बच्न सक्छु भनेर धेरै प्रकारका कुराहरू भए । अन्ततः समिति बनेको छ । जुन प्रतिशोधपूर्ण व्यवहार मिडिया र राम्रो दृष्टिकोण राखेर हिँड्ने मानिसप्रति भएको थियो । समिति गठनपछि गल्ती गरिएछ भन्ने महसुस गराएको छ ।  त्यसले एक किसिमले सही बाटो लिन सक्छ । अनावश्यक रूपमा दोषारोपण गरेर छुट पाइँदैन भन्ने वातावरण बनेको छ । 

छानबिन समिति कुरा गरिरहँदा यो समितिले पारदर्शी, निष्पक्ष र तथ्यपूर्ण रूपमा काम गर्न सक्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ? 
छानबिन समितिको संयोजकमाथि धेरै साथीहरूले प्रश्न गर्नुभएको छ । तर समितिमा उहाँ मात्र हुनुहुन्न । सदस्यहरू पनि हुनुहुन्छ । उहाँहरू उत्तिकै जिम्मेवार बन्नुपर्छ भन्ने लाग्छ । त्यहाँ पार्टीगत रूपमा प्रतिनिधित्व भएको छ । एमालेको संयोजक हुँदा काँग्रेस र अरू पार्टीकाले गलत कुरालाई औँल्याएर एकाएक छानबिन गर्नुपर्छ । यदि त्यो भएन भने, कसैलाई बचाउने, लुकाउने कुराहरू आयो भने हाम्रो पार्टीका सदस्यले भोलि त्यहाँ भएको कामकारबाहीप्रति छुट्टै प्रतिवेदन बनाएर जनतामाझ जानहुन्छ । त्यसका लागि उहाँहरू तयार हुनुपर्छ भन्ने लाग्छ । कोही पनि गलत काम गर्ने मान्छे समितिमा बहुमत छ, सरकारको पावर छ भन्ने हिसाबले ढाकछोप हुन सक्दैन । 

२०४६ सालपछिका सबै फाइलहरू खोल्न तयार छौँ भनेर काङ्ग्रेसकै नेताहरूले भनिरहनुभएको छ । काँग्रेस उपसभापतिले 

हाम्रो पार्टी उपसभापति धनराज गुरुङले प्रतिनिधि सभामा २०४६ सालपछिका राजनीतिक, सामाजिक, आर्थिक, नेताहरूको मात्र होइन व्युरोक्रेसीमा भएकाहरूको पनि विना पूर्वाग्रह छानबिन गरी सत्य तथ्य पत्ता लगाएर कारबाही गर्नुपर्छ भनेर सङ्कल्प प्रस्ताव पेस गर्नुभएको छ । मलाई लाग्छ हाम्रो अग्रसरतामा सबै राजनीतिक दल त्यसमा सहमत भई छानबिन हुन्छ । गलत गरेकालाई कारबाही हुन्छ भन्ने कुरा कुरामा विश्वस्त छु । 
छानबिन गर्ने त भन्नुभयो तर दूधको साक्षी बिरालो भनेझैँ पार्टी भित्रकालाई बचाउन छानबिन समितिलाई प्रभावित बनाउन लाग्छ कि भन्ने आशङ्का पनि त छ नि ? 
सङ्कल्प प्रस्ताव दर्ता भइसकेपछि तपाईँले राखेको जिज्ञासामा हाम्रो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा यो कुरा उठिसकेको छ । कपोकल्पित रूपमा केही नेताहरूमाथि दोषारोपण गरिएको छ, सबै नेताहरूले त्यहाँ आफ्ना कुरा राखेर खुला रूपमा छानबिन गर्न कसैले कसैलाई रोक्दैन भन्नुभएको छ । यद्यपि काङ्ग्रेसभित्र त्यस्तो दोषी मान्छे कोही बसेको पनि छैन र कसैलाई काँग्रेसले बचाउन ढाकछोप गर्ने कुरै आउँदैन । गल्ती गरेकालाई कारबाही गर्न सबैले चुनौती दिनुभएको छ । काङ्ग्रेसभित्र त्यस्ता मान्छे छैनन् । छानबिनका सवालमा काँग्रेसको आफ्नै दाबी छ, एमालेको आफ्नै, यो कुरालाई यही बिट मारौँ  तर, पुराना दलहरूप्रति वितृष्णा बढेको छ र जनता आजित छन् ।

नयाँ दलहरू राष्ट्रिय र क्षेत्रीय राजनीतिमा आइसकेपछि जनताको मन भाँडिएको छ । केही स्थानमा निर्वाचनले पनि त्यसलाई पुष्टि गर्छ । के जनता पुराना दलबाट बिरक्तिएका हुन ? 
जनताहरू पुराना दलबाट बिरक्तिएको भन्दा पनि उनीहरूले जे जति गर्नुपर्ने थियो त्यति गर्न सकेनन् होला, तर कामै नगरेका त होइनन् नि । प्रजातन्त्र स्थापनादेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदासम्म त्यसका लागि लडेका योद्धाहरू अझै हुनुहुन्छ । केही नेताहरूले पार्टीभित्र बसेर गल्ती गरेका होलान् त्यस्तालाई पार्टीले कारबाही गरेको छ । पार्टी खडा गरी देशमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेस मात्र नभएर अरू दलका नेताहरू लाग्नुभएकै हो । उहाँहरू निर्दोष हुनुहुन्छ  । लोकतन्त्रलाई स्थापित गर्न योगदान गरेका धेरै व्यक्तिहरू यहाँ छन् । केही मानिसको व्यवहारको कारणले पार्टीमा लाग्नेहरूमा नैराश्य पक्कै आएको छ ।
पार्टीमा पदीय जिम्मेवारीदेखि लाभको पद र अवसरको जिम्मेवारी वितरणमा न्यायोचित नभई नातागोतामा केन्द्रित भयो । गुटको नाममा नजिकका व्यक्ति भएको नाममा पक्षपातपूर्ण व्यवहार भएको छ । पार्टीभित्र भएका केही मानिसहरूले गलत किसिमले अगाडि हुक लगाएर तानेका कारणले केही नैराश्य आएको छ ।