गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिने सांसद गुरुङको भनाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०० दिन अगाडि
गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिने सांसद गुरुङको भनाई

काठमाडौँ -पूर्व मन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानुन निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौँ भने २ खर्ब राजश्व वृद्धि हुने बताए । 

आज प्रतिनिधि सभामा बोल्दाबोल्दै उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानुन बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरूलाई छिटो यस सम्बन्धी कानुन तर्जुमा गरेर ल्याउन भनेको थिएँ । यसलाई औषधीजन्यको रूपमा  यसको प्रवर्द्धन गर्नुपर्छ। यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यस कारणले गर्दा यसलाई औषधी बनाउनको लागि गाँजा खेती गर्न सक्छौँ । हामीले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’ 

सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए । उनले भने, ‘साथ सहयोग गरेर अघि बढौँ, नेपाल बनाउने सबै मिलेर हो । सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन । यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौँ । योजनाहरू बनाऊ र अगाडि बढौँ म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भई रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौँ ।’

उनले राजश्व वृद्धि गर्न गारो छ गारो छ भनेर बसेर नहुने भन्दै यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताए । 

उनले भने, ‘राजस्वका लक्ष्यका सन्दर्भमा हामीले राजस्व कसरी बढाउन सकिन्छ, करको दायरा बढाउनु पर्छ । यो गैर कानुनी जुन कारोबारहरू छन्, त्यसलाई बन्द गर्ने हो भने हामीले १२ खर्बबाट धेरै माथि राजस्व उठाउन सकिन्छ । खाली गारो छ गारो छ भन्ने होइन कसरी सजिलो हुन्छ त त्यो कुरा पनि हामीले बताउनु पर्छ भन्ने मलाई लाग्छ । हाम्रो प्रवृत्ति भनेको हामीले हरेक कुरालाई नकारात्मक रूपमा मात्र हेर्ने छ त्यस कारण नकारात्मक पक्षमा मात्र छलफल गर्दा सबै कुरा नकारात्मक तरिकाले नै अघि बढ्छ ।’ 

यसको साथै घरेलु मदिरा सम्बन्धी पनि कानुन बनाएर यसलाई व्यवस्थापन गर्न सक्याै भने थप अर्को २ खर्ब रुपैयाँ राजश्व उठ्ने भन्दै यही पैसा भए पनि छैन भन्ने अनि हात थाप्ने बानीले बसेको पनि उनको भनाइ छ ।