बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०० दिन अगाडि
बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भए पनि केही कमजोरीहरू देखिएको बताएकी छन् । 

प्रतिनिधि सभामा बजेट माथिको छलफलमा उनले आन्तरिक ऋणको आकार जसरी बढाइएको छ यो भने चिन्ताको विषय भएको बताइन् ।  उनले भनिन्, ‘बजेट सकारात्मक भएता पनि यसका केही कमजोरीहरू पनि देखिएका छन् । जस्तै आन्तरिक ऋणको आकार जसरी बढाइएको छ यो चिन्ताजनक छ ।

सरकारले धेरै मात्रामा ऋण लिँदा निजी क्षेत्रले लगानी गर्न पाउने रकममा सङ्कुचन आउने र यसले मौद्रिक बजारमा तरलता सङ्कट निम्त्याउने टिप्पणी अर्थशास्त्रीले गर्नु भएको छ ।’ 

यस्तै, उनले समग्रमा अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट राम्रो आएको भन्दै दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको पनि बताइन् ।  उनले भनिन्, ‘मलाई समग्रमा अघिल्लो वर्षको बजेट भन्दा यो वर्षको बजेट राम्रो लाग्छ ।

दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको जस्तो, देखिन्छ तर कच्चा कृषि सामग्रीको आयातमा अग्रिम आय कर लगाएको छ जसले गर्दा कृषि उद्योगीहरू भने मारमा परेको छ ।’