काठमाडौँ - सङ्घीय संसद्को दुवै सदनको बैठक मङ्गलवार पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकास मन्त्री पनि हुन्।
यस्तै, नेपाली काँग्रेसका २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। २०५८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। रेग्मीको यही जेठ १ गते मङ्गलवार निधन भएको थियो ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ ।अर्थमन्त्री वर्षमान पुनले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा उठेको प्रश्नको जबाफ दिने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरुङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।