सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा बढ्यो   

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा बढ्यो   

काठमाडौँ - सेयर बजार परिसूचकमा सामान्य सुधार छ ।

कारोबार रकम पनि बढेको छ । मङ्गलवार ६.२२ अङ्कले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को विन्दुमा रह्यो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ । १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन छैन । 

साताको पहिलो दिन बढेको सेयर बजार दोस्रो दिन घटेको थियो । सोमबार बजार ३.९७ अङ्कले घट्दै २०७९.०७ विन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको थियो  । यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अङ्कको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो । 

मङ्गलवार १३ मध्ये जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै बढेका छन् । व्यापार उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । लघुवित्त उपसमूह १.४८ प्रतिशतले बढ्दा ग्लोबल आइए मई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहे । उक्त कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै नारायणी विकास बैङ्क, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत सेयर मूल्य बढेका कम्पनीको सूचीमा छन् । सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ ।

उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएनइन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आइए मई लघुवित्तको १० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।