मनसुनजन्य विपद्ले ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आकलन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
मनसुनजन्य विपद्ले ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आकलन

काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।

सोमबार ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना ०८१’ पारित गर्दै मनसुनजन्य विपद् प्रभावितमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ ।

यसै गरी यस वर्ष विपद्‌बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको छ । प्राधिकरणका कर्मचारीका अनुसार कार्य योजना पारित गरिए पनि सार्वजनिक गरिएको छैन । 

यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आकलन गरेर कार्य योजनामा मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन सार्वजनिक गरिसकेको छ ।