‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’- प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’- प्रधानमन्त्री

काठमाडाै -प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययन अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्य तालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिएका छन् । 

दाहालले भने, ‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यो प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ । आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययन अध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्य तालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।’ 

उनले भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास, विस्तार र उन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।  उनले अर्थतन्त्रमा विद्यमान दबाब र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बिच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको बताए ।