काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले फोहोर व्यवस्थापन गर्न उपयुक्त नीति नहुँदा सरकारलाई चुनौती बढेको बताएका छन् ।
बुधवार काठमाडौँमा ‘फोहोर व्यवस्थापन र जलवायु सम्मेलन २०२४’ उद्घाटन कार्यक्रममा उनले फोहोर व्यवस्थापन लागि उपयुक्त नीति नहुँदा घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्किने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको बताए ।
उनले भने, ‘फोहोर व्यवस्थापनको व्यवस्थित नीति नहुँदा हाम्रो घर समुदाय, उद्योग कारखाना, अस्पताल लगायतका विभिन्न ठाउँबाट निस्कने फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकारलाई चुनौती बनेको छ । हामीले घर, उद्योग, कलकारखाना र विभिन्न क्षेत्रबाट निस्कने फोहोर उचित रूपमा व्यवस्थापन गर्न सकेनौँ भने स्वच्छ वातावरण निर्माण गर्न सक्दैनौँ ।’
उनले जलवायु परिवर्तन र फोहोर व्यवस्थापन विश्व समुदायकै लागि जटिल समस्या भएको भन्दै सबैले यसलाई साझा सङ्कल्प बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तन र फोहोर व्यवस्थापन नेपालको मात्र समस्या होइन । विश्व समुदायकै लागि जटिल समस्या बनेको छ । यसको लागि एउटा जिल्ला, राष्ट्र, देश होइन सिङ्गो विश्व समुदायले नै साझा सङ्कल्प गर्न आवश्यक छ । फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माण एक अर्कासँग सम्बन्धित विषय हुन् । यी दुई विषयलाई हामीले छुट्टाएर हेर्नु हुँदैन ।’
जलवायु परिवर्तनका कारण धेरै क्षेत्रहरू प्रभावित भएको भन्दै सरकारले बजेटमा पनि जलवायु परिवर्तनको विषयलाई गम्भीरताका साथ प्रस्तुत गरेको पनि उनको भनाइ छ । उनले भने, ‘सीमान्तकृत वर्ग यसबाट बढी प्रभावित भएका छन् । जलवायुजन्य प्रकोपबाट हुने क्षति सम्बन्धी अध्ययन अनुसन्धान, आधारभूत तथ्याङ्क सङ्कलनमा कमी हुनु हाम्रो लागि चुनौतीको विषय बनेको छ । जलवायु परिवर्तनका कारण कृषि तथा खाद्य जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, मानव स्वास्थ्य, ऊर्जा, सिँचाइ, बसोबास तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । यसले बाढी, पहिरो, जीविकोपार्जनमा असर जस्ता जटिल समस्याहरू बढ्दै गएका छन् ।’