टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७५ दिन अगाडि
टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

काठमाडौँ -सन् २०१४ को ठिक १० वर्षपछि टी–२०  विश्वकपमा नेपालको पुनरागमन सुखद बन्न सकेन ।

गए राति अमेरिकाको टेक्ससस्थित ग्राउन्ड प्रेरि रंगाशालामा नेपालले  नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो ।  चिरपरिचित एसोसिएसन प्रतिद्वन्द्वी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भए पनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो । नेपालले दिएको एक सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १८ ओभर चार बलमा मात्र चार विकेट गुमाएर भेट्टायो । लय बिर्सिएका ओपनर द्वय कुशल भुर्तेल र आशिफ सेखबाट विश्वकपको पहिलो खेलबाट जस्तो प्रदर्शनको आशा गरिएको थियो त्यस्तो सुरुवात हुन सकेन । नेपाली खेलाडी आफूसँग भएको सीप र क्षमता समेत बिर्सिएर लोलाएजस्ता देखिए ।

  ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला नेपाली जर्सी र नेपालको झण्डाले झकिझकाउ थियो । काठमाडौँस्थित टीयू क्रिकेट मैदानको झल्को दिनेगरि त्यहाँ नेपाली दर्शकको उपस्थिति थियो । 

नेदरल्याण्ड्सका समर्थकमाथि जसरी नेपाली दर्शकले दबदबा बनाएका थिए, मैदानभित्र खेलाडीहरूले त्यो हर्षलाई खुसीमा बल्न सकेनन् । अझ पछिल्लो समयको क्रिकेट समर्थकको भाषामा भन्ने हो भने ‘हाम्रा खेलाडीले न खेल जिते, न त मन नै ।’ राती ९ः१५ बाट सुरु हुनुपर्ने खेल ९ः४५ बाट सुरु भयो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती चरणबाट आफूलाई पिचमा टिकाउनुभन्दा पनि ठुलो स्कोर बनाउनतर्फ खेलाडीहरू तम्सिरहेका देखिन्थे । ओपनर द्वय भुर्तेल र आफिस निर्भय देखिँदैन थिए र डट बलको दबाब पनि उत्तिकै देखिन्थ्यो । 

ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन सुरु गर्‍यो । विकेट गुमाउनुमा पनि डट बलकै दबाब देखिन्थ्यो । दोस्रो ओभरमा बलिङ गर्न आएका स्पिनर टिम प्रिंगलको पहिलो बलमै कुशल भुर्तेलले चौका प्रहार गरे । लगत्तै दोस्रो बलमा एक रन लिए ।  तेस्रो बलमा स्ट्राइक पाएका आफिसले लगातार बलमा रन जोड्न सकेनन् । लगातार रन लिन नसकेपछि आफिसले ब्याटिङ अट्याक गर्न खेज्दा चार रनमा आफ्नो विकेट गुमाउन पुगे । त्यस्तै, लोगन भानबिचको चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रनमा एलबीडब्लू आउट हुन पुगे  । 

दुवै ओपनर आउट हुँदा नेपाल ३.१ ओभरमा १५–२ को अवस्थामा थियो ।  टी–२० क्रिकेटमा पावर प्लेको समयलाई रन जोड्ने मुख्य अवसरका रूपमा लिइन्छ । तर नेपालले त्यसको मौकाको फाइदा उठाउन सकेन । झन् सुस्त खेल्दै विकेट गुमाउँदै गयो । फलस्वरुप पावर प्लेमा नेपालले जम्मा २९ रन बनाएर दुई विकेट गुमाइसकेको थियो । अर्थात् नेदरल्याण्ड्सले नेपालमाथिको दबदबा सुरुदेखि नै कायम राखेको थियो ।

बलियो योगफल बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले लगातार विकेट गुमाइरहँदा नेदरल्याण्ड्सको पक्षमा खेल गइसकेको थियो । पावर प्लेका ६ ओभरमा नेपाली खेलाडीहरूले २७ बल डट खेलेका थिए । ती डट बलमा एक–एक रन मात्र जोड्न सकेको भए केही अरुनै परिणाम पनि निस्कन सक्थ्यो । दबाबकाबीच क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेलले ९४को स्ट्राइट रेटमा बनाएको ३५ रन नै कुनै पनि नेपाली खेलाडीले दिएको ठुलो योगदान रह्यो । ३७ बलको सामना गरेका पौडेलले पाँच चौकाको मद्दतमा ३५ रन बनाएका थिए । 

त्यसबाहेक अनिलकुमार साहले १२ बलमा ११ रन, कुशल मल्लले ९ बलमा ९ रन, दिपेन्द्र ऐरीले ६ बलमा १ रन, गुल्सन झाले १५ बलमा १४ रन, करन केसीले १२ बलमा १७ रन, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा शून्य रनमा आउट भए । पेभेलिएन, डग आउट र क्रिजमा रहने ब्याट्सम्यानले खेलेका डट बल यही पेरिफेरीमा थियो नेदरल्याण्ड्सविरुद्ध नेपालको खेल । नेपाललाई खेलमा फर्किन राम्रो साझेदारी आवश्यक थियो । तर मध्यक्रममा आएका ब्याट्सम्यान समेत त्यो प्रदर्शन गर्न चुके । 

बलियो योगफलमा पुग्न एउटा सानदार साझेदारी आवश्यक पर्छ । तर, नेपालका ब्याटरले राम्रो साझेदारी पनि गर्न सकेनन् । तेस्रो विकेटलाई रोहित र अनिलले २७ बलमा जोडेको २५ रन नै नेपालको इनिङको नेदरल्यान्ड्सविरुद्धको सर्वाधिक ठुलो साझेदारी थियो । त्यसपछि आठौं विकेटका लागि करण र गुलशनले १७ बलमा २२ रनको साझेदारी गरेका थिए । नेपाली ब्याट्सम्यानले खेलेका कुल ११६ बलमध्ये ६५ बल डट खेले । ठुलो योगफल बनाउनुभन्दा बल बाई रन बनाउन मात्र खोजेको भए पनि नतिजा केही फरक हुने आँकलन धेरैले गरिरहेका छन् । 

नेपालले पिचको कण्डिसन बुझेर विकेट जोगाएर खेलेको भए नतिजा फरक आउन सक्ने खेल पत्रकार तथा लेखक नवीन अर्यालको भनाइ छ । उनी भन्छन्, ‘जसरी पानी परेर ढिलो गरी खेल सुरु भएको थियो । नेपाली खेलाडीहरूले पिचको म्यारिट बुझेर खेल्न सकेनन् । उनीहरु ठुलो स्कोर बनाउन उन्मूख देखिन्थे । जसका कारण छिटोछिटो विकेट गइरहेको थियो । जुन प्रकारको साझेदारी बन्नुपथ्र्यो, त्यस्तो साझेदारी बनाउन सकेनन् । नेदरल्याण्ड्सले जोगिएर खेल्यो । सहज जीत निकाल्यो ।’

अबका खेलहरु पिचको म्यारिट बुझेर संयमित भएर खेले नेपालले अपेक्षित नतिजा निकाल्न सक्ने उनको प्रक्षेपण छ । अब नेपालले १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपाल वेष्टइण्डिज जाने छ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने छ ।