काठमाडौँ - ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।
बिहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाइ गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।
उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरूलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आस गरेको छु । यो कार्यक्रम भव्यताकारसाथ सफल हुन्छ । यसले नगरपालिका र नगर बासीको बिचमा सेतुको काम गर्नेछ । यसबाट द्विपक्षीय संवाद हुन्छ । नगर बासीहरूको सुख, दुख र पिर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरू सूचित हुने मौका पाउनेछ ।’
यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिँदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए । उनले भने, ‘यसबारेमा नेपाल सरकारका सुरक्षा निकायहरूसँग पनि हामी समन्वय गरेर हामी अगाडि बढ्छौ । जसले गर्दा हाम्रो सेवा चुस्त र दुरुस्त हुने नै छ ।’