काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यावसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजा खेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यावसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भए । गृहमन्त्री लामिछानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै नियमावली ल्याएर नै अध्ययन गर्ने प्रस्ट पारे ।
‘औषधीय र औद्योगिक प्रयोजनका लागि हामीले गाँजासम्बन्धी कानुनी रूपमा नियमावली बनाएर अध्ययन गर्न सक्ने कुरालाई खोल्ने कुरामा हामी स्पष्ट छैन । सरकारले नीति कार्यक्रम र बजेटमार्फत पनि भनिसकेको कुरा हो,’ उनले भने, ‘यसैको सुनिश्चितता नै आज यहाँको प्रतिबद्धता हो । यसको नियमावली बनाएर अध्ययन गरी खुला गर्ने प्रतिबद्धता गरेका छौं ।’
त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिन सक्ने ठाउँ पनि रहेको धारणा राखे । उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिन सक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन । गजब लाग्यो, यो आफैमा एउटा महत्त्वपूर्ण कुरा हो ।’