काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरी दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् ।
आज शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर प्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिएर अधिकतम सम्बोधन गर्ने आश्वासन दिए ।
प्रधानमन्त्री दाहालले भने, ‘अन्तर प्रदेश व्यवस्थापिका मञ्च बनाएर सांसदलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरुरी छ । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।’
छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबिच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए । उनले भने, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नुपर्छ । जनतालाई राम्रो डेलिभरी दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’
प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताए । उनले भने,‘सङ्घीय निजामती सेवा ऐन सांसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुङ्ग्याउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।’