काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् ।
शुक्रवार अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र आयोजित कार्यक्रममा उनले मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने बताए उनले भने, ‘मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो । तर मोरल अथोरीटीको सम्मान गर्ने संस्कार बसिसकेको छैन । अति दलबन्दीले कहिलेकाहीँ अप्ठ्यारो पार्छ । यसले निमुखाको न्याय मार्छ । त्यसैले एउटा सीमा र मर्यादामा रहेर मात्र दलहरूले भूमिका निर्वाह गर्नुपर्दछ।’
उनले हाम्रो संविधानले महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र निमुखा नागरिकलाई दिएको अधिकार अन्तर्राष्ट्रिय जग तलेसमेत प्रशंसा गरेको र दक्षिण एसियामा यत्तिको संविधान नभएको बताए ।संसद्को नेतृत्वको भूमिका लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने भएकाले उनीहरूले तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिँदै राजनीतिक दलहरूले पनि नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने उनको भनाई छ ।
राष्ट्रपति पौडेलले संसद्को काम सरकार निर्माण, कानुन निर्माण, जनसरोकारका मुद्दाहरूको सम्बोधन, नागरिक अधिकारहरूको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताहरूको सुनिश्चितता र सरकारमाथि निगरानी गर्ने पनि बताए ।‘हाम्रो संविधानले विधायिका अधिकार सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ, विधायिका जिम्मेवारी निकै गहन र वृहत् हुन्छ भन्नेमा हामीहरू जानकार नै छौँ,’उनले भने ।
मुलुक सङ्घीयतामा गएपछि २०७५ सालदेखि नै अन्तर व्यवस्थापिका मञ्च नेपालको नाममा अनौपचारिक फोरम निर्माण गरी सङ्घ र प्रदेश सभाको अनुभव आदान प्रदान गरेर मञ्चले असल अभ्यास सुरु गरेको र यस प्रकारको अभ्यासले सङ्घीय संसद् र प्रदेश सभाबिचको सम्बन्ध विकास गर्न तथा संसदीय अभ्यासमा एकरूपता कायम गर्न सहज हुने विश्वास व्यक्त गरे ।