ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९६ दिन अगाडि
ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

काठमाडौँ - ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ ।

ई–स्पोर्ट्स सङ्घ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते  हुने भएको हो । सङ्घले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्ड्स र ई–फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको छ । 

पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६ को फाइनल राउन्ड भौतिक रूपमा गरिने जानकारी दिइएको छ । मोबाइल लिजेण्डका सबै खेल अनलाइन र ई–फुटबलको प्रारम्भिक छनोट अनलाइन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रूपमा सञ्चालन गरिने सङ्घले जनाएको छ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रियच्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए । प्रतियोगितामा पुरस्कारको कुल राशि १२ लाख रुपैयाँ छ । प्राइज पुलको ७० प्रतिशत  पब्जी मोबाइलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई–फुटबलमा बाँडिनेछ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने बताइएको छ ।

टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरी तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने सङ्घले जनाएको छ । संघको वेबसाइटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रूपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए । अनलाइन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रूपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

संघका अध्यक्ष धमलाले आधुनिक खेल विधाको रूपमा अन्तर्राष्ट्रिय रूपमा उदाएको ई–स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रूपमा विकास गर्ने लक्ष्यसहित आफूहरू अघि बढेको जानकारी गराए ।