२०८४ सम्म काँग्रेस प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री थापा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९६ दिन अगाडि
२०८४ सम्म काँग्रेस प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा काँग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म काँग्रेस संघीय सांसदभित्र प्रतिपक्षको भूमिकामा बस्ने समझदारी कायम गरिसकेको  बताए ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । परिस्थितिले प्रतिपक्षमा ल्याएको छ । केही दिनमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ र ०८४ सम्म सशक्त प्रतिपक्षमा बस्नेबारे औपचारिक निर्णय गर्दछ । नेतृत्वसँग त्यही समझदारी भइसकेको छ । ०८४ सम्म सरकार बनाउन, गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्काउँदैनौँ ।’

उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि महिला भएकै कारणले स्त्री दोषी अभिव्यक्ति दिएको आरोप लगाए । उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको अभिव्यक्तिलाई काँग्रेसले गलत हो भन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनअघि नेपालको एक जना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा एउटा तुच्छ टिप्पणी गर्नुभयो । महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो । र त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्री दोषी पनि थियो । अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो । अब नेपाली काँग्रेसको एउटा व्यक्तिले घटनाका बारेमा धारणा बनाउँदा अलमलिन हुँदैन।

पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनै पनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ । काँग्रेसका आँखाले हेर्दै गर्दा गलत भन्न सक्नुपर्छ ।’

उनले काँग्रेस संसद्को ठुलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको बताए ।