काठमाडौँ -पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले राज्यको सीमित आम्दानीबाट अनगिन्ती रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सीमित स्रोतबाट जनताको न्यूनत र समयानुकूल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभाबी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन् ।
उनले भने, ‘एउटा परिवारको न्यूनत र समयानुकूल आवश्यकता कसरी परिपूर्ति गर्ने भन्ने हाम्रो चिन्ताको विषय हो । आम्दानीको स्रोत सीमित छ, प्राप्त आम्दानीहरूलाई प्राथमिकताको आधारमा कसरी खर्च गर्ने त्यो राज्यले व्यवस्थापन गर्ने कुरा हो । अनगिन्ती रुपमा जहाँ पनि खर्च गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हामीसँग पर्याप्त स्रोत छैन । स्रोतको सही तरिकाले खर्च भएको छैन । सरकारी खर्च ठिक ठाउँमा भइरहेको छैन ।’ उनले बजेटले अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर नदिएको भन्दै कनिका छरेजस्तो बजेट छरेपछि सोचेजस्तो परिणाम नआउने पनि बताए ।
‘यो बजेटले हाम्रो अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर दिएन । हामी सरकारमा रहँदा के कार्यविधि बनाएका थियौँ भने कुनै पनि विकास निमार्णमा तीन करोडभन्दा तलको आयोजना केन्द्रीय सरकारले नगर्ने भन्ने थियो । प्रधानमन्त्रीले हामी गठबन्धनबाट हटेपछि पनि हुँदैन भनेर नै बोल्नु भएको थियो । तर अहिले त्यसको पालना भएको छैन । बजेट कनिका छरेजस्तो छ । बालुवामा पानी हालेपछि परिणाम कसरी आउँछ ?’डा.महतको प्रश्न थियो ।
अर्थतन्त्रलाई ठिक ठाउँमा लाने सम्भावनाहरू भए पनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई सही बाटोमा लैजाने हो भने सम्भावनाहरू छन तर अनुशासनको खाँचो छ । वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी छ । बजेट हेर्दा आकार बढेर आएको छ । बजेट बढाउँदा आम्दानी कहाँबाट देखाउनुभयो ? ९० अर्ब थप ऋण निजी बैङ्कहरूबाट लिने निर्णय भएको छ तर त्यसो हुँदा निजी क्षेत्रलाई उपलब्ध ऋण कम हुन जान्छ । यस्ता खाले समस्यहरु बजेटमा प्रशस्त छन् ।’