काठमाडौँ -साताको दोस्रो दिन सेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ ।
सोमबार नेप्से ८.९० अङ्कले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ । यसअघि आइतबार ४.५९ अङ्क झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर कारोबार भएको थियो । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो ।
सोमबार १३ मध्ये ७ उपसूचक बढेका छन् भने ६ वटा घटेका छन् । विकास बैङ्क, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बिमा बढेका छन् । १७६ कम्पनीको सेयर मूल्य बढ्दा सर्वाधिक जलविद्युत २ र निर्जीवन बिमा १.२८ प्रतिशतले बढेका छन् ।
कुथेली बुखारी साना जलविद्युत र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य बढेर सर्किट नै लागेको छ । पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर पनि सर्किट स्तरमा बढेको छ । घट्नेमा वाणिज्य बैङ्क, होटल तथा पर्यटन, जीवन बिमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसमूह छन् । म्युचुअल फण्ड ३.७४ र व्यापार उपसमूह २.०४ प्रतिशतले घटेको छ । सेयर मूल्य घटेका ६१ कम्पनीमध्ये जानकी फाइनान्सका लगानीकर्ता ८.६७ प्रतिशत नोक्सानमा छन् । ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रचर सोमबार पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदीमर्दीको १२ करोड ४४ लाखको सेयर किनबेच भएको छ ।
१४७ कम्पनीको सेयर मूल्य घट्दा बढी नोक्सानमा बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माई खोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयर मूल्य घटेका छन् ।