काठमाडौँ - मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैङ्क सञ्चालन गरिएको छ ।
यहाँ रहेको रारा सामुदायिक बीउ बैङ्कले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ । संघसंस्थाहरुको सहयोग र सहकार्यमा नगरपालिकाले समुदाय स्तरमै बीउ बैङ्क स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो। वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ बैङ्कमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन् । बैङ्कमा धान, मार्सी, कागुनो, जौ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरूको संरक्षण गरिएको अध्यक्ष कालीबहादुर रोकायाले बताए ।
‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो । मान्छेहरूले पनि कुन रैथाने, कुन विदेशी छुट्टाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बीउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ ।’ अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घरको समेत स्थापना गरिएको छ ।