काठमाडौं । नेपाली काँग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तिय अनुशासन कायम गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तिय अनुशासन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताएका हुन् ।
एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शिर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो ।
उनले भने, ‘एउटै शिर्षकबाट खर्च गर्न सकिने बजेटहरु विभिन्न मन्त्रालयबाट विभिन्न शिर्षकहरु बनाएर खर्चहरु बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ । त्यसैले कानून मन्त्रालयको सन्दर्भमा बजेटको उपशिर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शिर्षक राखिएको छ । यसका अलवा पदाधिकारीका अन्य सुविधा, पदाधिकारी को बैठक, पदाधिकारीको भत्ता लगायतका शीर्षकमा रकमहरू क्रमशः प्रत्येक वर्ष बढाउँदै लगिएको छ । यसै वर्ष पनि क्रमशः एक लाख, सोह्र लाख, सत्र लाख गरी पटक पटक रकम वृद्धि हुँदै गएको छ । त्यसैले रकम घटाएर वा शिर्षकहरुको रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने औपचारिक प्रस्ताव पेस गर्न चाहन्छु ।’