ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८७ दिन अगाडि
ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार

काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ ।

 

चालहरूले डिपोबाट इन्धन नउठाउँदा उपत्यकाका जसोसबै पम्पमा डिजेल र पेट्रोल रित्तिएर हाहाकार भएको हो । निजी क्षेत्रका पम्पमा इन्धन रित्तिएपछि सोमबारदेखि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा हजारभन्दा धेरै सवारीसाधनको लाइन छ । यी सरकारी पम्पहरूले इन्धन ओसार्न आफ्नै ट्यांकर प्रयोग गर्छन् । डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेकाले अहिले ती पम्पमा उपभोक्ताको थेगिनसक्नु लाइन देखिएको हो ।

शनिबारदेखि निजी क्षेत्रका पम्पहरूमा इन्धनको आपूर्ति नहुँदा केही सीमित सरकारी पम्पमा चाप बढेको हो ।नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले चालकको आन्दोलन डिपोबाट इन्धन ढुवानी नहुँदा अभाव बढेको बताए ।अत्यावश्यक वस्तु सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा हड्ताल, बन्द वा विरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइँदैन ।

अहिले आन्दोलित चालक र नेपाल आयल निगमबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता हुँदैछ । वार्ता मिलेमा आजैदेखि इन्धन संकट हल हुने बताइएको छ ।