काठमाडौँ - पश्चिम बङ्गालमा सोमबार मालवाहक रेलले यात्रुवाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
सोमबार बिहान भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको र २०–२५ जना घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको दार्जिलिङका प्रहरी एसपी अभिषेक रोयलले जानकारी दिएका छन् ।
दुर्घटना सोमबार स्थानिय समय अनुसार बिहान करिब ८ः४५ बजे नयाँ जलपाइगुडी जक्शन अगाडि कटिहार रेलवे डिभिजनको रंगपानी क्षेत्रमा भएको हो । कञ्चनजङ्घा एक्सप्रेस आसामको सिलचर देखि सियाल दह सम्म चल्ने गर्दछ ।
उक्त रेल कोलकाता सियालदह जाँदै थियो । रेललाई बङ्गालको नयाँ जलपाइगुडी नजिकै रहेको रंगपानी स्टेसनको नजिक एउटा मालवाहक रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ ।
केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले उद्धार कार्य भइरहेको बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उनी स्तब्ध भएको बताएकि छन् । रेलवे स्रोतका अनुसार माल कन्टेनर रेलले सिग्नललाई ओभरसट गरी कञ्चनजङ्घा एक्सप्रेसको पछाडिको पार्सल कोचमा ठक्कर दिएको थियो ।