प्रतिनिधि सभा: घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८५ दिन अगाडि
प्रतिनिधि सभा: घाइते कवाडी व्यवसायीको निःशुल्क उपचारको माग 

काठमाडौं ।  सांसदहरुले  आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् । 

कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौँको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा  प्रहरीको हस्तक्षेपमा दजर्नौ घाइते भएको  र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको उल्लेख गर्दै आजको प्रतिनिधि सभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले सरकारसँग सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे । 

उनले भने, ‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दजर्नौ घाइते भएर ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु ।’उनले महानगर प्रमुख बालेन शाहले पपुलर बन्ने नाउँमा व्यवसायीमाथि अन्याय गरेको उल्लेख गर्दै न्यायका लागि व्यवसायीको पक्षमा आफू उभिने बताए । 

यस्तै, सिंहले प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री रवि लामिछानेले समेत जवाफ माग गरे ।उनले भने, ‘कवाडी संकलक र व्यवसायीमाथि प्रहरीले जुन ढंगको हस्तक्षेप गरेको छ, लोकतन्त्रको मजाक देखा पर्यो सभामुखज्यु । संवैधानिक हक र शान्ति सुरक्षाको जिम्मा लिएको राज्य जसले हरेक नेपालीको जिउ धनको सुरक्षाको जिम्मा लिएको छ उनीहरूको सुरक्षा गर्नुपर्नेमा, माग सम्बोधन गर्नुपर्नेमा कानुनी राज्यको प्रत्याभूति गराउनुको सट्टा लाठी चार्ज गरेर के सन्देश दिन खोजेको हो ? मान्य गृहमन्त्रीको जवाफ चाहन्छु ।’ 

उनले कवाडी व्यवसायी र संकलकको आन्दोलनमा गृहमन्त्रालयले बल प्रयोग गरेको उल्लेख गर्दै थप भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुन्छ कि हुँदैन ? आन्दोलनमा जुन ढंगले बल प्रयोग भएको छ यसले विभिन्न प्रश्नहरू खडा भएको छ । उनीहरूमाथिको बल प्रयोग सामान्य होइन, गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ ।’