संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८५ दिन अगाडि
संस्कृति संरक्षण र दस्तावेजीकरण नीतिमा पर्यटन मन्त्रालयको जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृति संरक्षण र दस्तावेजीकरणको लागि नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिइएको बताएका छन् । 

काठमाडौंमा बुधबार सांस्कृतिक संस्थानको ५२ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुक बहुसांस्कृतिक भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार तयार हुने भन्दै यसमा सरकारले विशेष ध्यान दिएको दाबी गरे । उनले भने, ‘नेपाल बहुसांस्कृतिक देश भएकै कारण संस्कृतिबाट नै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यान दिई नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवर्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ ।’

यस्तै, उनले सांस्कृतिक संस्थान संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय भएको भन्दै हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण सहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक रहेको बताए ।उनले भने, ‘मन्त्रालयको संस्कृति सम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएको हुनाले नेपाल र नेपालीको पहिचानसँग जोडिएको संस्कृतिजस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरि हरेक जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण सहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि संस्थानको विशेष पहल आवश्यक छ ।’सांस्कृतिक रुपान्तरणसँगै समाज रुपान्तरणका लागि नेपाल सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एक मात्र आधिकारिक एवं जेष्ठ निकाय सांस्कृतिक संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।