काठमाडौं । आइतबारदेखि सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूका मागप्रति नेकपा (एकीकृत समाजवादी)ले ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर गएर ऐक्यबद्धता जाहेर गरेका हुन् ।‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र आबद्ध राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट ऐक्यबद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहन्छु ।’उनले सरकार राजस्वको दायरा बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने र बचाउने खेलमा लागेको कारण उद्योगी, पेशा, व्यवसायीहरु धेरैका मागहरू अलपत्र रहेको बताए ।
उनले भने, ‘मैले के गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो । नेपालमा पुँजीपतिहरूको सङ्ख्यामा कसरी वृद्धि गर्ने, राजस्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने, बचाउने खेलमा मात्र सरकार रहेको छ । जसका कारण उद्योगी व्यवसायीहरु धेरैका मागहरू अलपत्र अवस्थामा छन् ।’ क्रसर तथा खानी उद्योग सम्बन्धी कानून पनि बन्दै गरेको भन्दै उनले सम्भवत यही महिनाभित्र कानुनको टुङ्गो लाग्ने आश्वासन दिए । सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरू सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरुको माग सम्बोधन नभए निजी क्षेत्र, नागरिक एवम पीडितहरू सडकमार्फत आन्दोलन चर्काउने भन्दै आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै आइरहेका छन् ।