खेलकुदमा योग शिक्षा र विधि आवश्यक 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६० दिन अगाडि
खेलकुदमा योग शिक्षा र विधि आवश्यक 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाल योगा खेलकुद संघले आयोजना गरेको कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, ‘हामी सबैले योग गर्ने अभ्यास र बानी बसाल्नु पर्छ । योगले हामीलाई शारीरिक रुपले मात्र नभई मानसिक रुपले पनि स्वस्थ बनाउँछ ।’सदस्य–सचिव घिसिङले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन योग संघबाट अझ सहकार्यको अपेक्षा गरेको बताए ।

‘परिषद्ले खेलकुदको तालिमलाई अझ व्यवस्थित बनाउन तपाईँहरूबाट थप सहकार्य र अपेक्षा गरेको छ । खासगरी नेपाली खेलकुद अब प्राविधिक र विषयगत तालिममा मात्र नभएर समग्र तयारीमा जुटेको छ ।’सदस्य–सचिव घिसिङले भने, ‘विगतमा पनि तपाईंहरुसंग हामीले सहकार्य गरेका थियौँ । गत वर्ष १९ औँ एसियाली खेलकुदको तयारी होस् वा अहिले मिसन २०२६ को क्रममा होस् । योग अभ्यासलाई हाम्रो बन्द प्रशिक्षण र विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीहरूलाई योगसँग हामीले एकाकार गर्दै अगाडि बढी रहेको सन्दर्भमा योगमा लाग्नु भएका प्रशिक्षकहरूलाई नेपाली खेलकुदमा योग शिक्षा र विधिलाई अझ व्यवस्थित ढंगले प्रयोग गर्न आग्रह गर्न चाहन्छु । अन्तर्राष्ट्रिय योग दिवसमा सबैलाई शुभकामना ।’

योगा संघले आनन्द मार्ग योगा समाज, नेपालको सहयोगमा अन्तर्राष्ट्रिय योग दिवस नेपालमा मनाएको हो ।एक हजार भन्दा बढीको उपस्थितिमा भएको कार्यक्रममा योगाका खेलाडीहरूले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए । भारत र बंगालदेशका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।