काठमाडौँ । बजेट पास गर्ने कार्यसूची सँगै काँग्रेसले आफ्ना सबै सांसदलाई आजको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बजेट पास गर्ने कार्यसूची सँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महसुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
त्यस अघि आजै विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ ।
यस्तै, आजको राष्ट्रियसभा बैठकमा भने उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।