जाजरकोटमा बाढीले शिक्षक मृत्यु 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८१ दिन अगाडि
जाजरकोटमा बाढीले शिक्षक मृत्यु 

काठमाडौं । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ ।

शनिबार राति तारे चौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् । ‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भनिन् । 

उनका अनुसार शनिबार राती ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो। बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताइन् । 

तर अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन् । रोकाया गाउँपालिकाकै वडा नम्बर–४मा रहेको मालटाकुरा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।