मुगु । मुगुमा ६ महिनाको अवधिमा १२ ओटा मानवअधिकार उल्लंघनका घटना भएका छन् ।
आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि गरिएको अर्धवार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ ओटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए ।मुगुको सदरमुकाम गमगढीमा सम्पन्न कार्यक्रममा शाहीले प्रस्तुत गरेको विवरणमा महिला हिंसाका घटना बढी छन् । ६ महिनाको तथ्याङ्क अनुसार जिल्लामा महिला हिंसाको ७ ओटा, कुटपिट सम्बन्धी ४ वटा र दुर्व्यवहार सम्बन्धी एउटा घटना भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पारेका थिए । साथै, उनले जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाहरूमध्ये सबै प्रहरी समक्ष नपुग्ने र पुगेका घटना पनि दर्ता नभएर मेलमिलापमा टुङ्ग्याउने गरेको भन्ने इन्सेक प्रतिनिधिले गरेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । थापाले आगामी दिनहरूमा सबै विवरण स्पष्ट राख्ने प्रतिबद्धता समेत जनाए ।
नागरिक समाज मुगुका अगुवा रूप बहादुर मल्लले इन्सेकले मानव अधिकार उलङ्घन सम्बन्धीका घटना दर्ताका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । मल्लले नागरिकमा रहेको कम चेतनाका कारण जिल्लामा घटेका कतिपय घटना बाहिर नआउने र बाहिर आए पनि उजुरी गर्ने प्रक्रिया सम्म नपुगी गाउँमै घटना मिलाउने हुने गरेको धारणा राखे । स्थानीय तहका न्यायिक समिति कमजोर भएको कारण मानव अधिकार उल्लंघनका घटनामा पनि उजुरी नै नपर्ने गरेको भनाई उनको थियो ।
नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ले पनि मुगुका नागरिकमा आफ्ना अधिकारबारे चेतना फैलाउनुपर्नेमा जोड दिए । मल्लले मुगुमा अखाद्य (मिति सकिएका) खाद्यान्न आउने गरेको, अभाव र अज्ञानका कारण जनताले त्यही अखाद्य खानेकुरा प्रयोग गर्ने गरेको भन्दै खाद्य अधिकारबारे विशेष जोड दिएर जनचेतना फैलाउन इन्सेकलाई आग्रह गरे ।
कार्यक्रममा उपस्थित पूर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवाल र सरकारी वकिल कार्यालय मुगुका अधिवक्ता चन्द्र बहादुर खत्रीले मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरू हुने गरेता पनि ति घटना स्थानीय तहको न्यायिक समिति र प्रहरी चौकिमै मेलमिलाप गराइने भएकाले इन्सेक सम्म नपुग्ने गरेको अनुभव सुनाए ।