‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ’

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन् । उनले भनिन् । ‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ भएको छ । मैले सुनेको छु कानूनमन्त्रीको संयोजकत्वमा सहजिकरण समिति गठन भएको छ ।

त्यो सहजिकरण समितिले पक्कै पनि काम थालेको होला लागेको थियो । तर, आज संसद् भवन प्रवेश गर्दा हाम्रा कर्मचारी साथीहरू कालो पट्टि बाँधेर आन्दोलनमा बस्नुभएको रहेछ । यो दःखद हो । हाम्रो संसद ढिलो चल्यो । त्यसले गर्दा मेरो ध्यानाकर्षण भएको छ ।’संसद सचिवालयका कर्मचारीहरूले पाउने गरेको तलबले राम्रोसँग जीवन जिउन समेत नसकेको उनको भनाइ छ । 

‘सभामुख महोदय कर्मचारीलाई हामीले दिएको तलबले राम्रोसँग जिउन सक्ने खालको छैन । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । उहाँहरूका केही जायज मागहरू पनि छन् । हामीले उहाँहरूसँग बसेर वार्ता गर्नुपर्छ । त्यो वार्ता सकेर संसदको समयको सदुपयोग गरौँ । संसदको काम नियमित गरौँ,’ उनको भनाइ थियो । 

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको छ ।