काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरि पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन् ।
‘बर्खा लागेपछि बाढी आउँछ । र सबै अस्थायी संरचनाहरू बगाउँछ नागरिकले टुलुटुलु हेरेर आफ्नो सुविधा बगेको हेर्नु बाहेक अर्को कुनै विकल्प नै छैन् । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । बिभिन्न ठाउँ गरेर एक सय ५९ मिली लिटर भारी वर्षा भएको छ । यसले गर्दा मेलम्चीको अस्थायी पुल बगाएको छ । ६ वटा वडाको आवतजावत अवरुद्ध भएको छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँन चाहान्छु ।
हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस् ।’