काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको सांस्कृतिक नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित संस्कृति नीति, २०८१ माथि छलफल कार्यक्रममा बोल्दै मन्त्री तामाङले संविधान आफैँमा समाजवादमा आधारित संस्कृति उन्मुख रहेको बताएका हुन् ।उनले भने, ‘हाम्रो संस्कृति नीति गलत छ । वैज्ञानिक र आधुनिक संस्कृतिको विकास गर्नेबारे पनि छलफल हुनुपर्छ । आधुनिक संस्कृतिको विकास नगरौँ भन्ने हो भने नेपालको संविधानले समाजवादी संस्कृतिको विकास गर्ने भनेर त उल्लेख गरेको हो नि ।
अहिलेको संविधान आफैँमा समाजवाद उन्मुख संविधान हो । त्यसकारण समाजवादी संस्कृतिको विकास गर्ने कुरामा खुलेर आउन आवश्यक छ ।’मुलुकले बहुलतालाई समेत स्विकारेको मन्त्री तामाङको भनाइ छ । नेपालको संविधानमै बुहजातीय, बहुधार्मिक र बहु सांस्कृतिक भनेर प्रमाणित गरेको उल्लेख गर्दै उनले अबको सांस्कृतिक नीति त्यही अनुरूप हुनुपर्ने बताएका हुन् । ‘हामीले बहुलतालाई स्वीकार गरेका छौं । हामी बहुभाषिक हो, बहु सांस्कृतिक हो, बहुजातीय हो भनेर भन्नु नै हामीले बहुलतालाई स्विकारेको हो’, उनको भनाइ छ ।