कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७४ दिन अगाडि
कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

काठमाडौं । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौँ पुरानो हो ।

शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्न नगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे । 

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम  बजेटमा प्राथमिकतामा राखिएको बताए ।धानमा आत्मनिर्भर हुन व्यावसायिक खेती प्रणाली, सिचाइँकाे सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो ।

तर नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण बर्सेनि कृषि उपज मात्रै ३ खर्ब रुपैयाँ बराबरको आयात भइरहेको तथ्याङ्क छ ।प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी वर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन् ।

तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरूले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ । नेपालमा ८० लाख टन धानको माग छ ।

हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारी मात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामल मात्रै उत्पादन भइरहेको छ । चामल मात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आकलन गरिएको छ । 

चालु आर्थिक वर्ष २०८०।८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९।८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो ।