काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्त्वहरूको आँखा नेपालमा परिरहेको बताएका छन् ।
आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूर्ण ‘कू’ तत्त्वहरूको आँखा नेपालमा परिरहेको बताएका हुन् । उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तीव्र ढङ्गले बढेको बताए । उनले भने,‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुवीकृत राजनीति र नेपालको भू–राजनीतिको कारणले निकै ठूलो दबाबमा छ । हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूर्ण छ । सुन्दरतामा सबैको आँखा पर्छ ।
सम्पूर्ण कूतत्वहरूको आँखा नेपालमा परिरहेको छ । स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढङ्गले बढेको छ । ’उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए ।नेकपा एस दुई वटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरूको पार्टी भएको उनको भनाई छ ।