काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने दाबी गरेका छन् ।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दसौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेपछि जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गडगडाउँदो नदीजस्तो भएर उर्लनु माक्र्सवाद हो ?’ भन्दै प्रश्न गरे । उनले भने, ‘मैले तपाईँहरूको दस्ताबेज पूरै हेर्न भ्याएको छैन् । तर तपाईँहरूले बिभिन्न राजनीतिक दलको मूल्याङ्कन गर्दा नजिकको मित्रका साथै प्रचण्ड अस्थिर भन्नुभएको छ ।
तपाईँलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिन । शान्ति प्रक्रिया पछि समृद्धिको नयाँ अभियान चलेको प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुँदैनथ्यो । प्रक्रियामा यहाँ आइपुग्दैन थियौँ । जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ?गडगडाउँदो नदीजस्तो भएर हुर्रिने माक्र्सवाद हो ?।’अहिले पनि भ्रष्टहरू गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रक्रिया चलिरहेको भन्दै भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेको उनको भनाई छ ।
उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्धको पहल बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार हुने, तिनीहरूमाथि पनि मुद्दा चल्ने प्रक्रिया चलिरहेको छ । तर, यहाँ सबै भ्रष्टमात्रै छन् भन्ने व्याख्या गरिएको छ । अहिले भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेका छन् ।’प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको पनि बताए ।