काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो ।मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।
मेला विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरूसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए ।‘मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको बिषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिनेछ ।