काठमाडौं । संसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले)बिच सत्ता सहकार्यका लागि सहमति भएको छ ।
सोमबार मध्यरातमा सत्ता सहकार्यका काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने काँग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने काँग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।
मधेशमा भने मधेसवादी दललाई नेतृत्व दिने सहमति भएको छ । सत्ता सहकार्यसँगै एमाले र काँग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रूप दिएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।