मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले उपत्यका केन्द्रित नभई मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलबार सञ्चारिका समूहले आयोजना गरेको ‘सामाजिक सञ्जालमा हुने लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकार पलायनका लागि राज्य र सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको बताए । ‘हामी महिला वा पुरुष भएपनि राम्रो पत्रकार बन्नुपर्यो । पत्रकारितामा अव्वल हुनसक्यौं भने पेसाप्रति आकर्षण बढ्छ र बलियो पनि हुन्छ । पत्रकातिमा राम्ररी अगाडि बढ्न सक्यौं भने पत्रकार पलायन हुनपर्दैन भन्नेमा समिक्षा हुन आवश्यक छ । राज्यको यसमा गम्भीर ध्यान दिनुपर्छ । राज्यले पनि उपत्यका विशेष मात्र नभई मोफसलको पत्रकारितालाई सम्बोधन गर्न जरुरी छ ।’

दुर्गममा पत्रकारिता गर्न प्रविधि मात्र चुनौती नभएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले समन्वयको अभाव रहेको उल्लेख गरे । दश वर्षभन्दा पहिलेको जस्तो पत्रकारितामा आकर्षण नभएको भन्दै यसको कारणबारे समिक्षा गर्न जरुरी रहेको बताए । ‘मैले कतिपय जिल्लामा पत्रकार महिला कममात्र देख्ने गरेको छु । राजधानीका मात्र कुरा गर्न छाडौँ । दुर्गममा के पत्रकारिता गर्न प्रविधिको मात्र चुनौती होला त ? त्यहाँ राज्यले सम्बोधन गर्नुपर्ने कुराहरू पनि छन । हामीले समन्वय गर्नुपर्ने विषयहरु पनि होलान् । सबभन्दा ठुलो कुरा त पत्रकारिता बुझाउन सक्यौं कि सकेनौँ ? आजभन्दा १० वर्ष पहिलेको पत्रकारिताको आकर्षणलाई निरन्तरता दिन सकेनौँ । आज समिक्षा गर्ने बेला भएको,’ उनको भनाइ छ ।