५७ वर्षदेखि भोगचलन गर्दै आएको घरजग्गामा रेडक्रसको डोजर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७२ दिन अगाडि
५७ वर्षदेखि भोगचलन गर्दै आएको घरजग्गामा रेडक्रसको डोजर

काठमाडौं ।  कैलाली भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाएको बताएका हुन् । गत असार १४ गते घरमा कोही नभएको अवस्थामा नेपाल प्रहरी र भजनी नगर प्रहरीको सहयोगमा रेडक्रसले आफ्नो घर भत्काइदिएको उनको भनाइ छ । नरबहादुर अनुसार उक्त जग्गा रेडक्रसले दाबी गर्दै आएको थियो ।

नरबहादुरका बाबु वीरबहादुरले २०२४ सालमा स्थानीय तेजनारायण श्रेष्ठसँग ६ कट्ठा ५ धुरा जग्गा किनेका थिए । जग्गा किन्दा मौखिक रुपमा पैसा दिइएको र कुनै दर्ता वा कागज नगरिएको नरबहादुरको भनाइ छ । नरबहादुरका अनुसार भोगचलनकै क्रममा २०२६ सालमा जग्गा वन कार्यालयले दाबी गरेको थियो । जग्गामा २०३६ सालमा वनले फेरि दाबी गरेको थियो । वनले सो जग्गामा भवन बनाउन खोजेपछि स्थानीयहरूले प्रतिकार गरेका थिए । प्रतिकारपछि बाब्ली परिवारले जग्गा भोगचलन गर्दै आएको थियो । 

२०५५ सालमा छुट जग्गा दर्ता खुलेको बेला आफूले मालपोत कार्यालय धनगढीमा निवेदन दिएको नरबहादुरले सुनाए । उनको अनुसार त्यतिबेला नापी कार्यालयबाट प्राप्त भएको कागजातको कैफियतमा सो जग्गा ‘तेजनारायण श्रेष्ठ (जग्गा बेच्ने व्यक्ति) र भजनी रेन्जर अफिसको तेरो मेरोमा झगडा परि तिरो तिर्न बाँकी’ लेखिएको कैफियत फेला परेको थियो । आफूले जग्गा दर्ताका लागि निवेदन दिएपछि मालपोतका अधिकारीहरूले गाउँ विकास समितिको सिफारिस मागेका थिए । 

सो समयमा गाविसले २०२४ सालदेखि स्थायी रुपमा बसोबास गर्दै आएको भनी नरबहादुरलाई सिफारिस दियो ।  उनले सो सिफारिस मालपोत कार्यालयमा बुझाए । सो जग्गामा जग्गा विक्रीकर्ता तेजनारायणका छोरा गोविन्दले पनि दाबी गरे । गोविन्दलाई पनि सोही जग्गा दर्ताका लागि भन्दै गाविसले सिफारिस दियो । नरबहादुरका अनुसार त्यसपछि मालपोतले आफूलाई थाहा नै नदिई गोविन्दको नाममा जग्गा दर्ता गराएका थियो । पहिलो निवेदनकर्तालाई कुनै जानकारी नै नदिई गोविन्दको नाममा जग्गा दर्ता भएपछि दूषित दर्ता बदर गराई पाउँ भनी नरबहादुरले जिल्ला अदालतमा मुद्दा दर्ता गराए । २०५९ मा  अदालतले मालपोत कार्यालयको निर्णय सदर गरेको थियो । 

जिल्ला अदालतको फैसलाविरुद्ध नरबहादुर तत्कालीन पुनरावेदन अदालत दिपायल गए । पुनरावेदनले पनि २०६३ सालमा जिल्ला अदालतकै फैसला सदर गरिदियो । जग्गा सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा गोविन्दले सो जग्गा महुन्याल माध्यमिक विद्यालय (महुन्याल उच्च माध्यमिक विद्यालय) लाई दान दिए । तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज मिश्र पीडितको घरमा आइ बुझ्दा जग्गा विवाद रहेको थाहा पाएपछि विद्यालयले दान अस्वीकार गरेको नरबहादुरले बताए । त्यसपछि गोविन्दले जग्गा रेडक्रसलाई दान दिएका थिए । 

नरबहादुरका अनुसार २०२४ सालदेखि नै सो जग्गामा उनीहरुले भोगचलन र बसोबास गर्दै आएका थिए । २०८० वैशाख २९ गते रेडक्रस भजनी उपशाखाका रामनारायण चौधरीलगायतको टोली आएर सो ठाउँबाट हट्न निर्देशन दिएको उनले बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि निष्कर्ष ननिस्किएको उनले बताए । उनका अनुसार गत भदौमा घर भत्काउन रेडक्रसले प्रहरी प्रशासनसहित डोजर लिएर आएपछि त्यहाँका स्थानीय प्रतिकार गरेका थिए । त्यसपछि आफू पुनः सिडिओ कार्यालय जाँदा ‘कसैले घरबास उठाउँदैन, ढुक्क भएर बस्नुस्’ भन्ने आवश्वास पाएको उनले बताए । 

सो क्रममा सिडिओले २०६६ चैत २९ गते दर्ता भएको मठ नं.१७ को निर्णय नं. १२ फाइल मालपोत कार्यालयबाट मगाउने निर्देशन दिएपनि मालपोतले उक्त फाइल लुकाइदिएको उनको गुनासो छ । सिडिओले पहिला कसले निवेदन दिएको थियो भनी परीक्षणका लागि त्यो फाइल मगाए पनि लुकाइएको बताए । नरबहादुरकाअनुसार उनको घर भत्काउन सुरक्षा निकायका टोलीसहित रेडक्रस डोजर लिएर पुगेको थियो । त्यसबेला पनि घर भत्काउन असफल भएको रेडक्रसले अन्ततः कोही नभएको बेला पारेर आफ्नो सम्पत्तिमा डोजर चलाइएको उनको भनाइ छ । 

दूषित दर्ता खारेज गरी २०२४ सालमा आफ्ना बाबुले किनेको जग्गा आफ्नो नाममा दर्ता हुनुपर्ने र रेडक्रसले डोजर चलाउँदा भएको क्षतिपूर्ति आफूले पाउनुपर्ने उनको माग छ ।जग्गा २०८० साउन २१ गते वडा कार्यालयको रोहबरमा भएको सरजमीन मुचुल्कामा २०२१ सालदेखि नरबहादुरले घर बनाई निरन्तर हालसम्म जोतभोग गर्दै आएको विषय साँचो हो भन्ने पनि उल्लेख रहेको छ ।