रास्वपाका महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाई वैठक मा उपस्थित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७१ दिन अगाडि
रास्वपाका महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाई वैठक मा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।