काठमाडौँ । कान्तिपुर टिभीको विवादास्पद ‘इट्स माइ शो’ का कतिपय अंश आपत्तिजनक रहेको भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन निर्देशन दिएको छ ।
काउन्सिलले यो विषयमा बयानका लागि आज उक्त कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएर झण्डै एक घण्टा सम्म सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् ।काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरूको चरित्र हत्या गर्ने, गोपनीयता हनन हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् । उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्य लक्ष्मी शाह लाई ल्याएकी थिइन ।
त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरीत रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो ।उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन । काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताए ।छलफलमा अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनालसहित सहभागी थिए । उक्त शोका निर्माता, कान्तिपुर टिभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो ।
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरीतका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिङ गरेका मुद्दामा सक्रियता देखाइरहेको छ । यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कारबाही गरिसकेको छ ।