काठमाडौ -गायक रामकृष्ण ढकालले नयाँ गीत 'मायाको घर' सार्वजनिक गरेका छन्।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतलाई प्रिमियर गर्दै युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गोविन्द कँडेल 'आशु' को शब्द रचना, हरि लम्सालको संगीत तथा रामकृष्ण ढकालको स्वर छ। नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति गायक शम्भु राई, गायकहरू यम बराल र हेमन्त शर्माले संयुक्त रूपमा म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्। गीतको भिडिओमा गायक ढकाल र पाँच वर्षीया आर्या भानीको अभिनय छ। स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडिओमा बाबु र छोरीको कथा प्रस्तुत गरिएको छ।
कार्यक्रममा शुभकामना दिँदै गायक शम्भु राईले नेपाली गीत संगीत क्षेत्रमा रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। गायक ढकालले यो भिडिओको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। यसपटक अलि फरक ढंगको गीत बनाउने कोशिस गरेको उनको भनाईं थियो। निर्देशक सापकोटाले भिडिओमा हाम्रै समाजमा रहेको कथालाई उतारेको बताइन्। भिडिओमा सुशील खनालको छायांकन तथा सम्पादन छ।