काठमाडौँ- गायक हसन राईको स्वरमा रहेको नयाँ गीत 'मखमली चोली' भिडियो सहित सार्वजनिक गरिएको छ।
राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा रोशन राई 'पालुवा स्टार' को शब्द रचना र रोशन बान्तवा सूचा राईको सङ्गीत रहेको छ। फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीत लोक लयमा बनेको छ। भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए। पछिल्लो समय कार्यक्रम गरेर भिडियो सार्वजनिक गर्ने प्रचलन कम भएको छ। हसनको 'मखमली चोली' भिडियो सार्वजनिक कार्यक्रममा सङ्गीतकर्मीहरूको उलेख्य उपस्थिति रहेको थियो।
गीतकार आनन्द अधिकारी,सङ्गीतकार शान्तिराम राई, सङ्गीतकार महेश खड्का,गायक सिताराम पोखरेल,सङ्गीतकार डक्टर किराँत,कलाकार विष्णु रिजाल, गायक रूपकुमार राई लगायत थुप्रैको उपस्थिति रहेको थियो। समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिम्सिनाले गरेका हुन्। रेस्क्यु क्रिएसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड भिडियो मौलिक बनेको छ।
लाहुरेको कथामा बनेको भिडियोमा लाहुरे सँगको माया प्रीतिको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरूले भिडियो उत्कृष्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए।
प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान् गायक हसनलाई सङ्गीत क्षेत्रले पाएको बताए। भिडियो रोशन राई 'पालुवा स्टार' को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।