मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६७ दिन अगाडि
मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस

काठमाण्डाै । मधेश प्रदेशमा काँग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ । 

केन्द्रीय राजनीतिमा एमाले–काँग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले  विश्वासको मत प्राप्त गरिसकेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको थियो । जनमत, काँग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो । तर मन्त्रालय बाँडफाँटमा काँग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन ।

काँग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण  यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफूहरूले पाउने सहमति भएको र सोही अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । यता काँग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरूको नामसमेत टुंगो लगाएको जनाएको छ । नेपाली काँग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ । स्रोतले जनाए अनुसार काँग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु एक आपसमा छलफलकै क्रममा रहेको बुझिएको छ ।

लोसपाले आफूहरूले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको शपथग्रहण कार्यक्रम अझै हुन सकेन ।गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ । मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै काँग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको बुझिएको छ  ।