काठमाडौं । नेपाली काँग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरू उपचार र प्रभावितलाई राहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए । उनले भने, ‘बाढी पहिरोमा परि घाइते भएका नागरिकहरुको उपचार र प्रभावितलाई राहतका लागि सरकारले के गरिरहेको छ भन्ने विषय अझै पनि जानकारी गराएको छैन । यो दुखको विषय हो । प्रधानमन्त्री र मन्त्रीज्यूहरु संसदमा उपस्थिति जनाइरहनुभएको छैन । सरकारले विश्वासको मत लिने तयारी गरिरहनुभएको छ । संविधान अनुसार सरकारले विश्वासको मत लिनुपर्नेमा केही दुबिधा छैन । सरकारले तीस दिन समय लिओस् । सरकारमा हुँदा देश र जनताप्रति उत्तरदायी भइदिनुपर्यो ।’
लेखकले देशभर आएको बाढी र पहिरोमा परि ७४ जनाको मृत्यु, ६ जना बेपत्ता र ८६ जना घाइते भएको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘अविरल वर्षाका कारण देशभर बाढी र पहिरो गइरहेको छ । प्राप्त जानकारी अनुसार ७४ भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । ६ जनाभन्दा बढी बेपत्ता भएको स्थिति छ । ८६ जना घाइते भएका छन् । ठुलो सङ्ख्यामा जन र धनको क्षति भएको छ । कञ्जनपुरमा पनि यो वर्ष पनि औसतभन्दा बढि वर्षा भइरहेको छ । म सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । जिल्लाको कृष्णपुर र पुनर्वास गाउँपालिका लगायतका क्षेत्रमा ठुलो धन जनको क्षति भएको छ । देशभरिमा हजारौँ मानिसहरू विस्थापित भएका छन् । अर्वौ रुपैयाँ बराबरको क्षति भएको छ,’ उनको भनाइ छ ।