काठमाडौं - शुक्रबार रिलिज तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को काठमाडौं प्रिमियर गरिएको छ ।
मंगलबार बेलुका बिग मुभिजमा आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी सहभागी रहे । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका नेता र कलाकार पनि प्रिमियरमा देखिए । स्क्रिनिङपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले फिल्मको कथावस्तु र अभिनय पक्षको प्रशंसा गरे । अनिल बुढा निर्देशित फिल्मले मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने परम्पराको कथा भन्छ । यसअघि डकुमेन्ट्री ‘आग्रे’ निर्देशन गरेका बुढाको यो डेब्यु निर्देशकीय फिचर हो । पूर्वीरुकुमको मगर गाउँ तकसेरामा सेट गरिएको फिल्मले घरज्वाइँको परम्परालाई दर्शकसामु प्रस्तुत गर्छ ।
‘फेसबुकमा आइलभ यु भन्दैमा प्रेम हुने होइन । घाँस काट्दै, दाउरा काट्दै र काम गर्दैमा पनि प्रेम हुन्छ । यो फिल्मले प्रेमको यो पक्षलाई गहन ढंगले प्रस्तुत गरेको छ,’ फिल्म हेरेपछि उपसभामुख रानाले भनिन् ।‘मगर समुदायमा एक भएर बस्ने परम्परालाई हामीले फिल्म सिक्नुपर्छ जस्तो लाग्छ,’ उनले भनिन् ।अभिनेता दयाहाङ राईले संस्कृतिमाथि आफ्नो चासो रहेको बताए । ‘हरेक संस्कृतिलाई मेरो क्षमताले भ्याएसम्म बुझ्ने कोसिस गर्छु,’ उनले भने, ‘मेनस्ट्रिममा आउनैपर्ने कथा यसमा आइपुगेको छ ।’ समारोहमा मगर पहिरनमा देखिएकी अभिनेत्री मिरुना मगरले छायांकनको क्रममा भलिबल सिक्दाको सम्झना गरिन् । ‘मेरो बुवा पनि व्यवसायिक रुपमै भलिबल खेलाडी हुनुहुन्थ्यो,’ फिल्ममा भलिबल खेल्ने चरित्रको प्रश्नमा उनले भनिन् ।
अभिनेता कुन्साङ बमजमले धेरै पहिलेदेखि ‘घरज्वाइँ’ हेर्ने पर्खाइमा आफू रहेको बताए । बमजमले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे । अभिनेता शिशिर बाङ्देलले कथा सुनेदेखि नै आफू भावुक बनेको प्रतिक्रिया दिए । दयाहाङ र मिरुनाले सँगै काम गरेको यो छैटौं फिल्म हो । यसमा उनीहरुले मगर समुदायको दम्पतीको भूमिका निर्वाह गरेका छन् । जनक घर्तीले निर्माण गरेको यो फिल्म शुक्रबारदेखि नेपालसहित केही मुलुकमा समेत प्रदर्शन तयारी छ ।