सिमलतालमा पहिरो: त्रिशूलीमा खसेका बसको खोजी जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६९ दिन अगाडि
सिमलतालमा पहिरो: त्रिशूलीमा खसेका बसको खोजी जारी

काठमाडौ – चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका दुई वटा यात्रु बसमा यात्रा गरिरहेका यात्रुहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली खटिएका छन् ।

बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका यात्रुहरूले दिएको जानकारी अनुसार सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेका हुन् । शुक्रवार बिहान साढे तीन बजेको समयमा पहिरोमा परेर दुई वटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले पनि पुष्टि गरिसकेको छ । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट तीन जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ ।चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगञ्जबाट काठमाडौं गइरहेको एञ्जल बसमा २४ जना तथा काठमाडौंबाट गौरतर्फ गैरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृह प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।‘नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’