बाढी–पहिरो अपडेट : हराएका २ बस खोज्न ७ गोताखोर परिचालन, पोखरामा मृत्यु हुनेको संख्या ११ पुग्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३८ दिन अगाडि
बाढी–पहिरो अपडेट : हराएका २ बस खोज्न ७ गोताखोर परिचालन, पोखरामा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौँ – चितवनको मुग्लिङ–नारायणगढ सडक खण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको छ । 

आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउँमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो । काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ फर्कदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

यसैबिच काठमाडौँबाट गौर तर्फ गइरहेको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ। बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हाम फालेर ज्यान जोगाएको र उनीहरु हाल सकुशल रहेको रौतहट प्रहरीको भनाइ छ । हाम फालेर ज्यान जोगाउनेमा रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना रहेको पनि प्रहरीले जनाएको छ । 

मनसुनको सक्रियतासँगै देशमा बाढी पहिरोको प्रकोप बढ्दै गएको छ । निरन्तरको वर्षासँगै गए राती कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एक जनाको मृत्यु भएको छ ।